अपाङ्गताले नरोकेको स्वरोजगार कर्म

गलकोट । जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो। उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको ६ महिनामा अपाङ्गता भएका ७९ वर्षका खड्काको जीवन संघर्षले भने अझै विश्राम लिएको छैन।

अहिले पनि खड्का लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिन्छन्। खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आएका छन् भने १० वर्षदेखि बाख्रा। पैंतालीस वर्षदेखि ब्याठे राँगो पाल्दै आएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल भएका छन्।

“४५ वर्षअघि रु १० राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु”, उनले भने, “अहिले वर्षमा एक सय २० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ।”

footwear zone

खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ। उनले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आएका छन्। राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाए।

“अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात”, उनले भने, “७० नपुगुन्जेल महिनाको पाँच सय अपाङ्गता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौँला।”

अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनु परेको उनको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ ।

उनले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताए। कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताए ।

“राँगोलाई डोर्‍याउन पर्दैन, आफैँ पछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्‍याउने मात्रै हो”, खड्काले भने, “युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ।” खड्काले तीनरचार वर्षमा उन्नत जातको राँगो फेर्दै आएका छन् । रासस

You might also like

Comments are closed.