हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ हुँदै गाङचेम्पो हिमाल (६३८७ मि) आरोहण गर्न इटालीबाट आएका पर्वतारोहीलाई आज स्वागत गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पहिलोपटक गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने इटालियन पर्वतारोहीलाई गाउँपालिकाको प्रवेशद्धार खाल्डे खोलामा स्वागत गरेको हो। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, कार्यपालिका सदस्य, कर्मचारी र स्थानीयवासीले टोलीलाई स्वागत गरे ।

पहिलोपटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्ये सात जनाले हिमाल आरोहण गर्ने र बाँकी बेसक्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले बताए।

footwear zone

६ हजार तीन सय ८७ मिटर उचाइमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिनसम्म आरोहण गरी टोली फर्किने अध्यक्ष लामाले बताए। राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृङ्खलाअन्तर्गत गाङ्चेम्पो हिमाल काठमाडौंबाट लगभग एक सय किलोमिटर दूरीमा छ। गङछेम्पो हिमाल १० देखि १२ दिनमा आरोहण गरी फर्कन सकिने भोताङका स्थानीयवासी बताउँछन् ।

सन् १९३० मा ब्रिटिस आरोही बिल तिलमानले नेपालका विभिन्न हिमालको अध्ययन तथा आरोहणका क्रममा जुगल हिमशृङ्खलाका चुचुरा र हिमालको आधार क्षेत्र साथै पाँचपोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेका थिए । सन् १९५५ मा तीन अमेरिकन महिलाले जुगल आरोहणको प्रयास गरेका थिए।

हाइ अल्टिच्युडका कारण एक सदस्य बिरामी परेको र बाँकीले खराब मौसमका कारण छ हजार एक सय ५१ मिटरसम्म यात्रा गरी फर्किएका थिए । त्यसयता जुगल हिमशङ्खलाका चुचुरा चढ्ने प्रयास भएको थिएन, यद्यपि जुगल गाउँपालिकाले तीन वर्षअघि एउटा टोली पठाएर सफल आरोहण गराएको थियो ।

त्यसयता कुनै शिखर खुलेको थिएन । संघीय सरकारको अनुमति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पहलमा गरिमा भ्यायाज प्रालिका सञ्चालक रवीन्द्र अर्यालले नेतृत्व गरेको इटालीको टोली गाङछेम्पो हिमाल आरोहण गर्न आज आएको हो।

पथ पहिचान गरी परीक्षण आरोहण सफल भएमा पर्यटन प्रवर्द्धनबाट समृद्ध पाँचपोखरी थाङ्पाल गाउँपालिका बनाउने लक्ष्य साकार हुने र स्थानीयको आर्थिक तथा सामाजिक जनजीवनमा व्यापक परिवर्तन आउने गाउँपालिका अध्यक्ष टासी लामाले अपेक्षा गरे ।

You might also like

Comments are closed.