बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतंक मच्चाएको छ। भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए ।
उनले भने, “भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ।”
भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार–पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ। एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए।

यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन् । गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म एक जना हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ ।




Comments are closed.