सुर्खेत । दैलेख गुराँस गाउँपालिका– ६ की बृद्धि विकको परिवार आर्थिकरुपले कमजोर छ। छ सन्तानकी अभिभावक बृद्धिलाई छोराछोरीको लालनपालन र शिक्षादीक्षामा समस्या हुँदा स्थानीय पालिका अन्तर्गतको बाल संरक्षण कोषले सहयोग गरेर पठनपाठन अगाडी बढेको छ।
विकका हुर्किएका छोराछोरीको विवाह गरेर आफ्नो पेस व्यवसायमा लागिसकेका छन्। तर सानै उमेरका दुई सन्तानको लालनपालन र पठनपाठनका लागि बाल संरक्षण कोष निक्कै उपयोगी बनेको छ ।
वृद्धिका श्रीमान्को मृत्यु भएपछि उनको झनै कमजोर आर्थिक अवस्थामा छोराछोरीलाई लालनपालन र पठनपाठन जटिल बनेको थियो। तर स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका एक छोरा डम्बर विकलाई वडा कार्यालयले बनाएको बाल संरक्षण कोषबाट सहयोग प्राप्त भएपछि पठनपाठनमा सहज भएको बिक बताउछन्। अहिले कोषबाट शैक्षिक सामग्रीसँगै विद्यालय पोसाक र आवश्यक रकमसमेत सहयोग भएको छ ।

सोही ठाउँकी सरस्वती हुन्चिङ मगर पनि अभिभावक बिहीन छैनन् । हुन्चिङ अहिले मामाघरमा बस्दै आएकी छन् । स्थानीय बिद्यायलको तीन कक्षामा अध्ययन गर्ने सरस्वतीको समस्या उस्तै रहेको थियो। स्थानीय बाल कोषबाट कापी, किताब अनि ड्रेस सहयोग आउन थालेपछि भाञ्जीलाई पढाउन सहज भएको माइजु शारदा पुनमगर बताउछन् ।
विसं २०७५ मा पूर्ववडा अध्यक्ष हिमबहादुर ओलीको पहलमा स्थापना भएको उक्त बाल कोषबाट डम्बर र सरस्वती मात्रै होइन वडा नं ६ का २४ जना विभिन्न जोखिम तथा गरिबीको रेखामुनी रहेका बालबालिकाले शिक्षा, स्वास्थ्यलगायतमा सहयोग पाउँदै आएका छन् । वडा नम्बर ६ मा रहेको बालसंरक्षण कोष प्रभावकारी बन्दै गएको छ ।
जोखिम तथा गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको कोष प्रभावकारी बन्दै गएको हो । वडा नं ६ का पूर्ववडा अध्यक्ष हिमबहादुर ओलीले आफ्नो एक महिनाको सेवासुविधा सहित स्थानीय सहयोगबाट कोष स्थापना गरिएको बताउछन्। कोषमा सेभ द चिल्ड्रेन, सामाजिक सेवाकेन्द्र (सोसेक) नेपालले पनि सहयोग गरेको ओली बताउँछन्।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जोखिम, असाय बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतमा सहयोग गर्दै आएको संस्थाका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए। कोषमा जम्मा भएको रकम अहिले सहकारीले चलाइरहेको छ।
स्थानीय नवयुग सहकारी संस्थामा जम्मा भएको रकमलाई सहकारीले १२ प्रतिशत व्याज दिने गरेको छ। उक्त व्याजबाट आउने रकम असाय र जोखिम बालबालिकाको शिक्षा, स्वास्थ्यमा खर्च गर्ने गरिन्छ। कोषमा अहिले रु एक लाख ४० हजार जम्मा भएको छ ।
कोष स्थापनापछि गुराँस गाउँ कार्यपालिकाबाट निर्णय नै भएर त्यसलाई अझै प्रभावकारी बनाउने निर्णय यसअघि नै भइसकेको भन्दै वडाध्यक्ष चन्द्रबहादुर रानाले बालकोषलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी गरिएको जानकारी दिए। उनले कोही पनि बालबालिका शिक्षा, स्वास्थ्यबाट वञ्चित हुन नदिने अठोट रहेको भन्दै कोषको आकार ठूलो बनाउन सहयोगी निकायसँग पनि समन्वय गरिने बताए ।




Comments are closed.