न चुनाव लाग्छ न चाडपर्वले नै छुन्छ सडक व्यापारीलाई

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, डुम्रेलाई व्यस्त राजमार्ग मानिन्छ । यस राजमार्गमार्फत् स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र पोखराबाट काठमाडौं, विराटनगर, महेन्द्रनगरलगायत विभिन्न स्थानमा पुग्ने हजारौँं सवारीसाधन दमौली, डुम्रे, दुलेगौँंडा, आँबुखैरेनी भएर आवतजावत गर्दछन् । यी सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई बिक्री गर्न हातमा सामान बोकेर सडकमा व्यापार गर्ने व्यक्ति झ्याल झ्याल र ढोका ढोका पुग्छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मिति नजिकिँदै आउँदा पनि उनीहरु बेखबर छन् । यता निर्वाचनको माहोल तातिएको छ भने ती सडक व्यापारी हातमा बोकेको सामान समयमै कसरी बिक्री गर्न सकिन्छ भन्ने चिन्तामा दौडिरहेका हुन्छन् ।

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका-७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउछिन् । “चुनाव आयो भन्छन् । खै कहाँ आयो चुनाव ? भोट दियो नेताले जित्छन् । न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,” उनी भन्छिन्, “घरमा भोट माग्न आएका थिए नेताहरु भन्थे केटकेटीले । हामीलाई भने आफ्नै चटारो छ । चुनावमा जानुभन्दा यहाँ सामान बिक्री गरे एक छाक चामल त किन्न सक्छौंँ । चुनावमा गयो हाम्रो साँझमा चुलोे बल्दैन । नेताले चुलो बाल्न मद्दत गर्दिने होइनन्,” कुमाल भन्छिन् ।

footwear zone

उनी जस्तै तनहुँको भानु नगरपालिका-१ साजबोटेका २५ वर्षीय राजु परियार भन्छन्, “नेताहरु भोट माग्न हिँडेको देखिन्छ । हामीलाई केको मतलब भयो र न उनीहरुले हाम्रो चुलो बाल्न एक मुठी चामलको व्यवस्था नै गरिदिन्छन् । हाम्रो दुःख बुझ्दैनन् नेताहरुले । नेताले बुझ्ने भए त हामीजस्ता सुकुम्वासीको समस्या बुझेर समाधान गरिदिन्थे होलान् नि ।”

“हामीलाई यो धुलाम्मे सडकमा बसको पछि लागेर दौडिन रहर छैन नि । कसले बुझिदिने हाम्रो समस्या । आफ्नो समस्या आफैँसँग छ । पीडा पोखेर समाधान हुँदैन । जागिर गर्न पाउने भए त हामी पनि सडकमा दौडिने थिएनम नि,” उनी बताउछन्, “हातमा सामान बोक्यो दौडियो । जसैगरी साँझमा चुलोमा आगो पनि बाल्नुपर्छ ।”

“हाम्रो समस्या सधैँ ज्यूँका त्यूँ छ । हामीजस्ता विपन्नको कुरा न त सरकारसम्म पुग्छ, न त नेताले हाम्रा दुःखका दिन फेर्दिन्छन् । हामी यही बाटोमा झण्डा फराएर गाडी हेर्दै सामान बेच्न दौडिरहन्छौंँ,” परियार भन्छन् । चुनावको दिनमा सार्वजनिक बिदा हुनुका साथै सवारीसाधनको आवतजावत बन्द हुनेहुँदा मतदानका लागि भने सोच्नैपर्ने अवस्था रहेको उनी बताउछन् ।हाम्रो समस्या समाधान गर्छु भन्ने तर पूरा नगर्ने उम्मेदवारलाई मतदान नगर्ने परियारको भनाइ छ ।

“हामीलाई धुलाम्य सडकमा बसको पछि दौडिन नपर्ने बनाउन प्रयास गर्ने उम्मेदवार को छ भन्ने बुझेर मतदान गर्नेछौंँ । मुखले बोलेर होइन हाम्रो समस्या समाधान गर्ने र सुकुम्वासीको समस्या समाधान गर्न लागिपर्ने उम्मेदवारलाई भोट हाल्न सकिन्छ,” उनी भन्छन् ।
उनीहरु जस्तै सडकमा व्यापार गर्ने व्यक्तिका लागि मतदान गर्ने वातावरण र निर्वाचनमा सहभागी गराउने प्रयासमा पनि उम्मेदवार वा सम्बन्धित स्थानीयका नेताले सोच्नुपर्ने भएको छ । स्थानीय नेताको यसतर्फ चासो पुगेमा उनीहरुको समस्या उच्च निकायसम्म पुर्‍याएर समाधान गर्न सकिन्छ ।

यस्ता विपन्न वर्गको दुःख र समस्या समाधान गर्ने निष्ठावान उम्मेदवार वा नेताको आवश्यकता रहेको उनीहरुको अपेक्षा छ । अहिले घरदैलो अभियान चलिरहेको छ । सडकमा पनि मतदाता दौडिरहेका छन् तर ती सडकमा सामान बोकेर दौडिने विपन्न वर्गतर्फ उम्मेदवारको ध्यान भने खिचिएको छैन ।

You might also like

Comments are closed.