कञ्चनपुर । तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँ बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन गरिएको छ ।
उक्त कार्यालयका प्रमुख डा दिलबहादुर विष्टले अहिले तरकारीका लागि नमुना गाउँको काम भइरहेको बताए। “बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्र तोकिएको छ र कमैया बस्तीमा तरकारी खेती प्रवर्द्धन कार्यक्रम भनेर काम गरिरहेका छौँ ।” उनले भने, “दलित तथा अपाङ्गतालाई पनि समेट्ने गरी कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”
विभिन्न क्षेत्रमा छरिएर रहनुभन्दा एउटै ठाउँमा नमुना तरकारी गाउँ बनाउन लागिएको प्रमुख विष्टले बताए। “एउटा गाउँमा राम्रो गरे अर्को पालिकाले पनि त्यसको सिको गर्छ र तरकारी खेती बढ्दै जान्छ।” उनले भने, “सङ्घ र प्रदेश सरकारबाट तरकारी कार्यक्रमका लागि रु दुई करोड बजेट आएको छ ।”

उक्त नमुना गाउँमा किसानलाई विषादीरहित तरकारी उत्पादनमा प्रेरित गर्ने गरिएको प्रमुख विष्टले बताए। यसले स्थानीयस्तरका किसानलाई आत्मनिर्भर बनउनाका साथै बजारमा तरकारीको माग बढ्ने तथा स्वास्थ्यका लागि समेत लाभदायी हुने उनले जानकारी दिए।
अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि किसान पनि तरकारी खेतीमा आकर्षित भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ का ४१ वटा राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग पाएपछि समुह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुवात गरिएको यहाँका किसान नाथुराम रानाले बताए।
“पचहत्तर बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ ।” उनले भने, “अहिले खेती विस्तार गर्दै १५ कठ्ठामा पुर्याएको छु ।” यहाँका किसानले दुई कठ्ठादेखि दुई-तीन बिघासम्म जमिनमा तरकारी खेती गरिराखेको कृषक रानाले बताए। “हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।” उनले भने, “यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइखर्च व्यहोर्दै आएका छौँ।”
डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्यबालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती नै रोजेको बताइन् । “मेहनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणाभन्दा बढी फाइदा हुन्छ।” उनले भनिन, “कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ।” भारतबाट आउने तरकारीले स्थानीय उत्पादनमा समस्या पार्ने गरेको कृषक सुदामाले गुनासो गरिन् ।
त्यसैगरी तरकारी खेतीमा लागेकी मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताइन्। “बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ ।” उनले भनिन्, “हामीले विषादीरहित तरकारी उत्पादन गर्छौ यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्।” मीनाले विभिन्न समस्या हुँदा पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको उनले बताइन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो वस्तीमा राना समुदायले होमस्टे पनि सञ्चालनमा ल्याएका छन्। यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जाने गरेको उनको भनाइ थियो ।
तरकारी खेतीमा लागेका कैलाशु राना पनि यसैबाट घरपरिवारको गर्जो राम्रैसँग चल्दै आएको बताउछन्। “तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्दा राम्रै फाइदा हुन्छ” उनले भने, “तरकारीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म फाइदा हुने गरेको छ।”
यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला नै बढी छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरी घरखर्चका लागि जोहो गर्ने गरेको उनीहरु बताउँछन् । गाउँमा उत्पादन भएको तरकारी बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेर बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् ।रासस




Comments are closed.