जोन्टा क्लब अफ काठमाडौंको लैङ्गिक हिंसाविरुद्ध वाकाथन

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ । ५ सय भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।

वाकाथनको अन्त्यमा लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो । यहि नोभेम्बर २५ तारिखदेखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै यस वाकाथनको आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको यस वर्षको नारा “महिला र बालिकाहरुविरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँं ” रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले भनिन्, “१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ । अहिले पनि लगभग सबै क्षेत्रका महिलाहरू दुर्व्यवहारको शिकार बन्न बाध्य भएका छन् । यी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरूमार्फत हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसामा परेकाहरुलाई सहयोग गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यका साथ काम गर्ने र महिला अधिकारको लागि काम गरिरहेका सम्पूर्ण साथीहरु एकताबद्ध भएर काम गर्ने कुरामा जोड दिनेछौँ।”

footwear zone

यो १६ दिनको अवधिभर जोन्टाले क्युएफएक्स सिनेमाहरुमा ४ शर्ट फिल्महरु पनि प्रदर्शन गर्दैछ । महिला र बालिकामाथि हुने हिंसा र दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने र यसको विरुद्धमा आवाज उठाउनै पर्ने सन्देश बोकेका यी शर्ट फिल्महरु जोन्टाले नै निर्माण गरेको हो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानकी अध्यक्ष विदुषी राणाले भनिन्, “हामीलाई आशा छ, यी शर्ट फिल्महरुले पीडितहरुलाई सुरक्षितरुपमा सहयोग लिनको लागि कुरा गर्न सकिने हेल्पलाइनहरुको बारेमा सुचना दिनेछ ।”

यसै पहल अन्तर्गत जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको प्रदर्शन गर्नुको साथै विभिन्न छलफलहरु पनि आयोजना गर्दैछ । वाकाथन भन्दा अगाडि जोन्टाले थुप्रै लोकप्रिय व्यक्तित्वहरुमार्फत पनि लैंगिक हिंसाविरुद्ध वकालत गर्न र सचेतना फैलाउन पहल गरेको थियो । यी क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् ।

कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो । जोन्टा इन्टरनेशनल विश्वव्यापी रुपमा सेवा र वकालतमार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने प्रोफेसनलहरुको अग्रणी विश्वव्यापी संगठन हो ।

सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालतमार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नका लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।

You might also like

Comments are closed.