दाङ । दाङमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ। किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि उत्पादन भने घट्दै गएको पाइएको छ ।
कुनै समय दाङको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो। तर पछिल्लो समय दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ। स्थानीयले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयबिनको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउछिन् । केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभरि खान पुग्ने गरे पनि पछिल्लो समय घरको उत्पादनले नपुग्ने गरेपछि किन्न थालेको विष्ट बताउछिन्।
“घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर अहिले आफूले खेती गर्दैनौँ”, गीताले भनिन्, “खेतबारी अधियालाई दिएपछि उत्पादन घटेको छ । खाने तेल बजारबाट किन्नुपर्छ।”

किसानले खेतीमा मनतन लगाएर गर्न छोडेसँगै जिल्लामा तोरी उत्पादन घट्दै गएको तेल मिल सञ्चालक मोहन वलीले बताए। तोरी उत्पादन घटेसँगै तेल मिलसमेत विस्तारै विस्थापित हुने क्रम चलिरहेको उनले बताए। “गाउँघरमा पहिले खेती हुँदा मिल चल्ने गरेका थिए तर अहिले उत्पादन कम हुँदै गएको छ”, उनले भने, “खेतीमा मन लगाउने र तेल बजारबाट किनेर ल्याउन थालेपछि समस्या भएको छ।” मिल व्यवसायी वलीका अनुसार हाल प्रतिलिटर तोरीको तेलको मूल्य करिब रु चार सयसम्म पुगेको छ ।
स्थानीयले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ। मिलमा तोरी पेल्न र तेल किन्न आउनेको सङ्ख्या घट्दै गएको उनको भनाइ छ । जिल्लामा करिब १७ हजार हेक्टरमा तोरी खेती हुने गरेको छ ।
तोरी उत्पादन घट्नुमा जग्गा प्लटिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको कृषि प्राविधिक माधव केसी बताउछन् । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोगले तोरीको उत्पादन बर्सेनि घट्दै गएको कृषि प्राविधिक केसीको भनाइ छ।
तोरीको उत्पादन बढाउनका लागि केही गाउँपालिकामा तोरी जोन कार्यक्रम लागूभएसँगै स्थानीय निकायअन्तर्गत कृषि शाखा तथा अन्य सम्बन्धित कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बिउ वितरण गर्दै आएका छन्।




Comments are closed.