अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

पर्वत । पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ। स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन्। तर अलैँची लगाएको क्षेत्रमा पुग्दा धनमाया सुस्केरा हाल्छिन। कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा ।

मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन्। यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन्।

उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ ।

footwear zone

“लगभग रु पाँच लाखभन्दा बढीको लगानी भइसकेको छ। अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो। तर दुई वर्षअगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो।

त्यसले अहिलेसम्म पनि छाडेको छैन,” समूहकी कोषाध्यक्ष वीरमाया पुनले भनिन्, “रोपेको तीन वर्षमा राम्रो उत्पादन दिने भनेको हो। अहिले पाँच वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन। पारिपट्टिको क्याङ गाउँमा पनि यस्तै भएको छ भन्छन् । पहिले २५ क्विन्टल फलेकामा अहिले १५ क्विन्टल जति होला भनेका छन् ।”

समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा सुरुमा पात सुक्ने र पछि लाँक्रा नै मर्ने समस्या देखिएको थियो। समस्या समाधानको प्रयास नभएको पनि होइन । तर हरेक विधिले उपचार गर्दा पनि समस्याको समाधान नभएको पुनले बताइन्।

“हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैँची रोपेका छौँ। सुरुमा बिरुवाहरू राम्रो भएर हुर्किंदै आए तर पछि पात सुक्दै जाने र अन्तिममा लाँक्रा नै मर्ने समस्या देखियो,” पुन भन्छिन्, “समस्या समाधानका लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै हेर्नुभएको हो। सरसफाइ र केही औषधिले केही कम भएको भए पनि बिरुवा सुक्ने क्रम रोकिएको छ ।”

समस्या देखिएको भनेर गुनासो आएपछि कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन्। परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको सङ्क्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम भए पनि फेरि पनि समस्या उस्तै रहेको उनको भनाइ छ ।

“मोदी गाउँपालिकामार्फत केही नमुना परीक्षणका लागि काठमाडौं पठाएको हो। ढुसी देखिएर विषादी छर्के पनि रोग नियन्त्रणमा आएन । अब फेरि पनि केही नमुना काठमाडौं पठाउन लागेका छौँ,” थापाले भनिन्, “यदि भाइरस भएर यति धेरै फैलिएको हुनुपर्छ । त्यस्तो हो भने बगैँचा नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ। हामीले अलैँची ब्लक कार्यक्रममार्फत अलैँची विज्ञलाई नै ल्याउने प्रयास गर्न लागेका छौँ।”

परीक्षणका लागि काठमाडौं पठाइने रिपोर्ट र विज्ञको सल्लाहअनुसार नै थप प्रयास गर्ने कार्यालयको तयारी छ। तत्कालका लागि जिल्लामा उपलब्ध प्राविधिकलाई पठाएर विषादी प्रयोगको तरिकाका बारेमा सिकाउँदै सरसफाइ नियमित गरिएको विषादी निःशुल्क उपलब्ध गराइएको कार्यालय प्रमुख थापा बताउछिन् ।

You might also like

Comments are closed.