नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीय खुसी

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङको बर्षातका धेरै दिन नसुतिकनै बित्छ । घर नजिकै नारायणी नदी सुसाएसँगै बगाउँछ की भन्ने डरले रातको समयमा बाहिर आएर हेर्दैमा उनको रात बित्छ ।धेरै पटक केटाकेटी बोकेर छिमेकीकोमा आश्रय लिएको पीडा उनीसँग ताजै छ ।

लमजुङको फुलिङ्गिरीबाट बसाइँ सरेर धेरै पहिला त्यहाँ आएको नान्जेलको परिवारसँगै धेरैको पीडा उहिनै छ ।भरतपुर महानगरपालिका-१६ भगेरी थानका रमेश राई नदी तटबन्ध हुने सुनेपछि निकै खुसी छन् ।

उनले भने, “अब जिउ धन जोगिने भयो”, नारायणीको तटीय क्षेत्रमा बसोबास गर्नेको निकै पीडादायिक जीवन जिउनुपर्ने बाध्यता छ । हरेक वर्षजसो ठाउँठाउँबाट नदी गाउँमा पसेर जनधनको ठूलो क्षति हुने गरेको छ ।त्यसै क्षेत्रबाट विस्थापित भएर धेरै अहिले सुकुम्बासीको रुपमा जिउन बाध्य छन् ।

footwear zone

विगत १० वर्षदेखि तटबन्धको काम थालिएको भए पनि बजेटको अभावमा न्यून काम मात्र भएको छ । यसवर्ष भने पर्याप्त बजेटको निकासासँगै पाँच खण्डमा विभाजन गरेर काम थालिएको छ । गत असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्ड र त्यसपछि बोलपत्र आह्वान भई सम्झौता भएको एउटा खण्ड गरी चार खण्डको काम थालिएको छ । अन्य एक खण्डमा छिट्टै काम थालनी गरिँदै छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार चार खण्डको सम्झौता भइसकेको छ भने एक खण्ड सम्झौताको चरणमा रहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो ।

त्यसैबेलाको अर्को एक खण्ड गाजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ । तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । चौँथो खण्ड रु २६ करोडमा ठेक्का सम्झौता भएको छ । यो बालुवादेखि गोलाघाटसम्मको ६ दशमलब ८ किलोमिटर तटबन्धको पनि सम्झौता भई कामको प्रक्रिया सुरु गरिएको छ ।

उनका अनुसार एउटा खण्ड बाहेक सबैको कामको प्रक्रिया सुरु भएको हो । सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइकाका छन् । गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको ६ दशमलब ८ किलोमिटरमध्ये २।५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्यांकलनको चरणमा रहेको छ । नारायणी किनारको जंगलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धका लागि ठेक्का लगाइएको हो । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ ।

चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ । गुरुयोजना अनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुनेछन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने आयोजनाका प्रमुख गणेश मरासिनिले बताए ।

सबै क्षेत्र ठेक्का लागेपछि निर्माणको प्रक्रिया सुरु हुँदै गर्दा भरतपुर महानगरपालिकाको संयोजनमा आज स्थलगत निरीक्षण एवं छलफल गरिएको छ । आयोजनाका कर्मचारी, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय र सरोकारवालाको रोहोबरमा महानगरपालिकाले छलफल गरेको हो ।

नदी तटीय विभिन्न क्षेत्रमा गरिएको छलफलमा महानगर प्रमुख रेनु दाहालले मेहनतका साथ परियोजना परेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए । स्थानीयलाई उनले भने, “अब बाढीका कारण तपाईहरुले दुःख पाउने दिन हटेर जाँदै छ ।”चार खण्ड दुई र एउटा खण्ड तीन वर्षमा सम्पन्न हुने भन्दै उनले आफूले अघिल्लो कार्यकालको सुरुआती चरणबाट थालेको कामले गति लिएको बताए ।

उपप्रमुख चित्रसेन अधिकारीले कुनै समस्या परेमा सँगसँगै महानगर रहेको भन्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न आग्रह गरे आयोजनाका प्रमुख मरासिनिले एकै साथ नारायणीको अधिकांश भू-भाग तटबन्ध हुने गरी महत्वपूर्ण आयोजना अघि बढेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । पाँचमध्ये दुईवटा खण्डको जिम्मा पाएको भन्दै निर्माण व्यवसायी महासंघका सदस्यसमेत रहेका होमकुमार आचार्यले निर्धारित समयमा काम सम्पन्न गर्ने बताए ।

You might also like

Comments are closed.