विषाक्त खाना खुवाउने रिसोर्टलाई तीन लाख जरिवाना

चितवन । विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई रु तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ। मङ्सिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो ।

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम रु तीन लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ ।

footwear zone

अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो। अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। गत मङ्सिर २३ गते नवलपुरको गैँडाकोट-१ का गणेश ढकाल र भरतपुर-१० की करिश्मा अधिकारीको सो होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिङटा लागेर भर्ना भएका बिरामीबाट गरिएको नमुना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

होटलले खानामा गम्भीर लापरबाही गरेको पाइएको बताउँदै उनले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदिमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताए । रासस

You might also like

Comments are closed.