पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुद्धा मामिलामा जान नपर्ने अवस्था आउन नदिने गरी स्थानीय तहमा विवाद समाधान गर्नसके नागरिकलाई सहज हुने बताए ।
उनले मेलमिलापकर्ताको कानुनी व्यवस्था रहेको बताउदै मेलमिलापकर्ताले मध्यस्तताको भूमिका खेलेर विवाद समाधानमा ध्यान दिनुपर्ने बताए । वडा तहबाटै मुद्दा मामिलामा जान नपर्ने अवस्था आउने गरी विवादको समाधान गर्न उनले आग्रह गरे । पोखरा महानगरपालिकाको न्यायिक समिति अघिल्लो पाँच वर्षमा उत्कृष्ट बनेको चर्चा प्रमुख आचार्यले आगामी दिनमा पनि न्याय सम्पादनमा उत्कृष्ट बन्ने विश्वास ब्यक्त गरे । उनले नेपालका स्थानीय तहमा दिइएको अधिकार विशिष्ट खालको भएको उल्लेख गरे ।
उनले संसारका कमै देशमा यस्तो प्रकारको अभ्यास रहेको बताउँदै स्थानीय सरकार बलियो नभएसम्म देशको अनुशासन व्यवस्थालाई सुदृढ बनाउन नसकिने समेत बताए । त्यस्तै, जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश रमेशप्रसाद खरेलले विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताए । विवाद समाधनको प्रभावकारी विकल्पको रुपमा मेलमिलापलाई स्थानीय तहमा स्थापित गरिएको उनको भनाई ।

त्यस्तै, उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले मेलमिलापकर्ताले विवाद समाधानका लागि निश्चित मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । साथै उनले विवाद समाधान गर्ने अधिकार स्थानीय तहलाई दिएको बताउदै न्यायिक समितिले मेलमिलापकर्ता उत्पादन र विवाद समाधानलाई सुदृढ गर्ने काम गरेको बताए ।
त्यस्तै, पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताए । उनले नागरिकले आफैले निर्वाचित गरेको जनप्रतिनिधिसंग आफना समस्या राख्न सजिलो हुने भएकाले न्यायिक समितिको कल्पना गरिएको बताए ।
कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिप्रसाद तिमिल्सेना, कांग्रेसका तर्फबाट नेता दिवसमान प्रधानाङ, नेकपा एमालेका नेता शाधिका शाही योगी, महानगर न्यायिक समितिसदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठलगायतले न्यायिक समितिको बारेमा चर्चा गरेका थिए ।
महानगर न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले गरेका थिए ।
आठ दिनसम्म सञ्चालन हुने तालिममा पोखरा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको छ । वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिए । तालिम पुस १४ गतेसम्म सञ्चालन हुने न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारीले जानकारी दिए ।




Comments are closed.