युवामा वित्तीय शिक्षाको महत्वका बारे जागरण ल्याउन ‘ग्लोबल मनि विक’

काठमाडौं । नेपाल राष्ट्र बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ ‘ग्लोबल मनि विक’ विभिन्न कार्यक्रमका साथ मनाउन सबै सम्बद्ध संस्था वा निकायलाई आग्रह गरेको छ ।

वार्षिकरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो । विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पु¥याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको केन्द्रीय बैंकले जनाएको छ ।

दशौँ शृङ्खलाका रुपमा सन् २०२२ मा मनाइएको ‘ग्लोबल मनि विक’ मा प्रत्यक्षरुपमा एक सय नौ र भर्चुअल माध्यमबाट एक सय ७० मुलुकका चार करोडभन्दा बढी युवाको सहभागिता थियो ।

footwear zone

आजदेखि मार्च २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर यो कार्यक्रम मनाउन लागिएको छ । साप्ताहिक कार्यक्रममार्फत युवामा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैरबैंक वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्नेछन् ।

विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई समेटी वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक क्रियाकलाप गर्ने, वित्तीय चेतनामूलक प्रतिस्पर्धा तथा वित्तीय चेतनामूलक ¥याली आयोजना गर्ने छन् । रासस

You might also like

Comments are closed.