किसानलाई गहुँ भित्र्याउने चटारो

बेदकोट । कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा ।

भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले एक बिगाह जमिनमा गहुँ खेती गरेका छन् । “गहुँ पाकिसक्यो, अचेल कटाइ चलेको छ”, उनले भने, “अब गहुँ आधा काट्न बाँकी छ, हामी घरपरिवारसहित छिमेकीहरु गहुँ काट्नमै लागेका छौँ ।”

बेदकोट नगरपालिका–४ का रामेश्वर बोहराले गहुँ कटाइ गरिसकेका छन् । उनि गहुँ चुट्नका लागि ट्र्याक्टरको पर्खाइमा छन् । “केही वर्षयता हामी ट्र्याक्टरले नै गहुँ चुट्ने गर्छौँ, गाउँमा जताजतै गहुँ चुटाइ चलेकाले ट्र्याक्टर पाउनै गाह्रो छ”, उनले भने, “दुई÷तीन दिन भयो, ट्र्याक्टर पाएको छैन ।”

footwear zone

यसपटक गहुँ राम्रो फलेको लालझाडी गाउँपालिका–३ का धर्मसिंह बडायकले बताए । उनले भने, “गहुँको बाला राम्रै छ, उत्पादन विगतभन्दा राम्रै हुने अनुमान गरेका छौँ ।”

जिल्लाका अधिकांश किसान गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले बताए । “अहिले गहुँ भित्र्याउने समय हो, किसान खेतमै व्यस्त छन्”, उनले भने, “अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको छ ।”

यसपटक कञ्चनपुरमा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बीउबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको सूचना अधिकारी जोशीले बताए ।

“यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, उनले भने, “समयमै सिँचाइ र उन्नत बीउको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।”

यस वर्ष तीनदेखि साढे तीन मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ ।

गत वर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । गत वर्ष ९४ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँ खेती हुने गरेको छ । रासस

You might also like

Comments are closed.