वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई क्षतिपूर्ति प्रदान

दमौली ।  सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिइन् ।

footwear zone

व्यास नगरपालिकाका २३ जनालाई रु ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई रु २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई रु ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई रु ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई रु ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई रु २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिइन् ।

उनका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगीका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका नौ र अन्य नौ रहेका छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगीका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगीका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् ।

म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगीका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् । भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगीका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगीका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् ।

घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगीका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगीका रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए । “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहलगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सक्यौँ”, रानाले भनिन् ।

सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताए । उनले भने, “सामी कार्यक्रमको प्रभावकारिता बढ्दो छ, यसलाई थप विस्तार गर्न आवश्यक छ ।”

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकालाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिए ।

सीप तालिम बिना वैदेशिक रोजगारीमा जाने बढी रहेकाले अझै पनि चुनौती रहेको मिश्र बताउछन् । उनले भने, “ठगीको व्यापकता, म्यानपावर कम्पनीको ठगीमा न्यूनीकरण तथा व्यक्तिगत ठगी तथा कन्सलटे«न्सीमार्फत हुने ठगी रोकिएको छैन ।” रासस

You might also like

Comments are closed.