ढोरपाटन । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोँडाबाँधे सडक अहिलेसम्म कालोपत्र नभएपछि स्थानीयवासी आन्दोलित भएका छन् । पटक–पटक म्याद थप गर्दासमेत लोकमार्गको २५ किलोमिटर सडक कालोपत्र नभएपछि स्थानीयवासी चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएका हुन् ।
कालोपत्र नहुँदा वर्षौंदेखि धुलो खान बाध्य स्थानीयवासी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । बिहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्रको नेतृत्वमा यस खण्डमा कार्यरत ठेकेदार कम्पनीको ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिनुपर्ने, निर्माण कम्पनीले नागरिकबाट लिएको रकम तुरुन्त फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत नागरिक आन्दोलन कार्यक्रम घोषणा गरिएको छ । यही जेठ २० गते सरोकारवाला निकायलाई मध्यपहाडी लोकमार्गको अवस्थाबारे जानकारी गराउने र २१ गतेदेखि बिहुँकोट पोखरामा रहेको सूर्य कन्स्ट्रक्सन प्रालिको साइट कार्यालयमा अनिश्चितकालका लागि ताला लगाइने बताइएको छ ।

जेठ २१ गतेदेखि २५ गतेसम्म सरकारी नम्बर प्लेटका सबै सवारी साधन आवतजावतमा रोक लगाइने, २६ गतेदेखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग पूर्णतः बन्द गर्ने आन्दोलनको कार्यक्रम रहेको बिहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।




Comments are closed.