काठमाडौं । गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएसँगै नृपाल डरी एसोसिएसनले लम्पी स्किन रोग तत्काल रोकथाम गर्न र क्षति भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन नोपल डेरी एसोसिएसनले आग्रह गरेको छ । बिहीबार विज्ञप्ती जारी गरि एसोसिएसनले सो आग्रह गरेको हो ।
गत माघ महिनामा पहिलो पटक झापाबाट शुरु भएको यो रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेको र हालसम्म तीन लाख ५५ हजार ६ सय ९८ पशु सङ्क्रमित भएको एसोसिएसनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा, यससम्बन्धी पुर्ण जानकारी नहुँदा संक्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको बताइएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएकोले नेपालमा ठूलो क्षति निम्त्याउन सक्ने बताइएको छ ।

पशु चिकित्सकका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ भन्ने कुराको पुष्टि गरेका छन् । यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा बढी देखापरेको छ र यो रोगको फैलिने क्रम दिनदिनै बढ्दै छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको विशेषज्ञले जानकारी गराएका छन् ।
यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।
देशभर महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोगबाट सङ्क्रमित तथा मृत्यु भएको पशुहरूको विवरण, यस रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सेवा विभागले सबै प्रदेशका पशुपन्छी हेर्ने मन्त्रालय, निर्देशनालय, भेटेरिनरी अस्पाताल, तालिम केन्द्र तथा पालिकाहरूसँग छलफल गरिरहेको छ ।
यस रोगको प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा चार हजार सात सय ७५ पशु मरिसकेका छन् भने त्यसपछि सुदूरपश्चिममा दुई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बागमतीमा दुई सय ८१, लुम्बिनीमा एक सय १०, मधेस प्रदेशमा ३५ पशु हालसम्म मरेको विभागको तथ्याङ्क छ । सङ्क्रमित पशुहरूमा औषधि र शक्तिबर्द्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ । विभागले यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिएको छ । तर यो सुझाव सबै स्थानीय निकायसम्म एवं किसान तहमा पुग्न सकेको छैन ।
नेपालमा पहिलो पटक २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षण देखापरेको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जानकारी गराएको तथ्य छ।
लक्षण देखा परेपछि नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशालाको प्रतिवेदन अनुसार जानकारी भएको छ । यसरी रोग पुष्टि भएपछि सो रोगको सूचना विश्व पशु स्वास्थ्य सङ्गठनमा पशु स्वास्थ्य सूचना प्रणालीमार्फत गरेको थियो । त्यसपछि लगत्तै यहि असार महिनामा चितवनको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका र मकवानपुरको हेटौँडा नगरपालिमा यो रोग देखिई धेरै जिल्लाहरूमा अहिले फैलिसकेको छ ।
यो रोग मुख्यगरी सब सहारन अफ्रिका, मध्यपूर्व र टर्कीमा महामारीकै रूपमा देखिने गरेको र एसियामा सन् १९८९ मा इजरायलमा यो रोग देखिएको थियो । यो रोग पछिल्लो समयमा सन् २०१९ मा दक्षिण र पूर्वी एसियाका देशहरु बङ्गलादेश, भारत, चीन, चीन ताइपेई र भियतनाममा देखा परिसकेको तथ्यांक छ ।
यति धेरै ठूलो क्षति हुँदा पनि सम्बन्धि निकायले दुरदराजमा रहेका किसानको गोठमा अझ पुग्न नसकेको र क्षति भएको ठाउँमा किसानलाई राहत दिन नसकेको अवस्थामा आगामी दिनमा यसले थप समस्या निम्त्याउने निश्चित देखिन्छ । सम्बन्धित निकाय केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई यो अहिलेको अवस्थालाई गम्भीर रुपमा लिन र यथा सम्भव नोक्सानी भएको ठाउँमा किसानलाई राहत उपलब्ध गराउन, रोगले नछोएको स्थानमा रोकथामका लागि तत्काल भ्याक्सिन लगाई सुरक्षित रहन सहयोग गर्न सबैलाई नेपाल डेरी एसोसिएसनले अनुरोध गर्दै एसोसिएसनले पनि आफ्नो नेट वर्क भएका स्थानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।




Comments are closed.