चाँगुनारायण तथा ख्वप अस्पताललाई ३०/३० लाख रुपैयाँ सहयोग

भक्तपुर ।
उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०/३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए ।

केही दिनअघि नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि दाताहरूलाई सार्वजनिकरूपमा नै सहयोगको आह्वान गरेका थिए । व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन ।

footwear zone

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १०हजार १०६ सहयोग गरेका छन् ।

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०–१० लाख, सङ्गम बचतले रु पाँच लाख, बाराही बचतले रु चार लाख र जिल्ला बचतले रु एक लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । ख्वप अस्पतालमा नगरपालिकाले २५ वटा एचडीयूसहितको ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गरी कोभिड सङ्क्रमितलाई उपचार सेवा दिइरहेको छ ।

You might also like

Comments are closed.