उपकरण मर्मतपछि हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर ।  दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।

क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राभने, उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको छ । उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिए । उनका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ ।

footwear zone

महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गरे ।

हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । “यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ । अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ”, उनले भने ।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गर्दै आएको थियो । उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्नुका साथै काठमाडौंलगयात विभिन्न सहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णको भनाइ थियो ।

उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । सरकारलाई उद्योगमा रहेका विद्यमान समस्याका बारेमा जानकारी गरिसकिएकाले त्यसतर्फ पहल गरिदिनु सम्बन्ध निकायलाई उनले आग्रह पनि गरे । रासस

You might also like

Comments are closed.