राजमार्ग विस्तार तथा घुम्ती सुधारको काम महिनौँसम्म नहुँदा सास्ती

बैतडी ।  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।

राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताउनुभयो । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन् । यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ । उनले भने, “पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ । मोटरसाइकल चलाउन त झनै समस्या छ ।”

सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन् । सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको बस चालक महेश भण्डारीले बताए । साना तथा ठूला सवारीसाधनको चाप बढ्दा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको छ । उनले भने, “सडकमा जताततै खाल्डाखुल्डी छन् । केही ठाउँमा सडक भत्केका पनि छन् । साँघुरा सडकमा खाल्डाखुल्डी हुँदा साइड दिन पनि समस्या हुने गरेको छ ।”

footwear zone

साँघुरा सडक जताततै खाल्डाखुल्डी तथा भत्किएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखिम बढेको छ । उनले भने, “साँघुरा सडक त्यसैमा जताततै खाल्डाखुल्डी छन् । अरु गाडीलाई साइड दिन पनि समस्या हुन्छ ।”

बर्सातको समय सुरु भएकाले यस्ता सडकले झन दुर्घटनाको जोखिम बढाएको ट्रक चालक वलदेभ भट्टले बताए । उनले भने, “पहाडको सडकमा लोड गाडी चलाउन धेरै अप्ठ्यारो छ । बर्सातको समयमा त झन् समस्या हुन्छ । सवारी चाप र साँघुरो सडक, त्यसमा पनि खाल्डाखुल्डी र भत्केको हुँदा दुर्घटनाको जोखिम छ । साइड दिन पनि अप्ठ्यारो छ । दैनिकजसो दुर्घटना भइरहेका हुन्छन् । खराब र साँघुरो सडकका कारणले हो ।”

वर्षौँ पहिले बनेका पहाडी राजमार्गमा सवारी चाप उत्तिकै बढेका छन् । सरकारले बर्सातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटेफुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुरा सडकलाई चौडा बनाउने योजना भने छैन ।

बर्सातको समयमा आउने पहिराका कारण अवरुद्ध सडकलाई तुरुन्तै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए । उनले भने, “बर्सातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ । सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ता मर्मत गरिन्छ । तर आर्थिक अभावका कारण अहिले नै थप स्तरोन्नति गर्न सक्ने अवस्था छैन ।”

सडकमा परेका खाल्डाखुल्डी पुर्ने तथा बिग्रे–भत्केका सडकको मर्मत गरिने भए पनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको प्रमुख लामिछानेको भनाइ छ । रासस

You might also like

Comments are closed.