व्यावसायिक रुपमा दूध बिक्री गर्ने किसानलाई अनुदान

मनहरी ।  मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने किसानलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो ।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने किसानको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई रू आठ लाख चार हजार चार सय २२ अनुदान वितरण गरेको गरिएको छ ।

नियमित रुपमा डेरीमार्फत दूध बिक्री गर्ने किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए । “डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना किसानले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए”, उनले भने, “सोही परिमाणका आधारमा रू एक लाख ५६ हजार नौ सय ७० वितरण गरिएको हो ।”

footwear zone

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ किसानले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत रू एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत रू तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत रू ६६ हजार ६ सय ३३ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ ।

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर रू एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर रू दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो । नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए । नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरुप गाईभैँसी पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए । रासस

You might also like

Comments are closed.