काठमाडौं । नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत एक कर्मचारीले संघको आजीवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको संघले जनाएको छ ।
संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसी क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही ती कर्मचारीले निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरीय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते उनकै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो ।
त्यही विषयलाई लिएर यो पेशमाथि आँच आउने गरी झुठा आरोप लगाई ब्युटीपार्लरमा कानून संम्बत कार्य नभएको भन्ने झुठा प्रचार गरेको, आफू गृह मन्त्रालय मातहतको कर्मचारी भएको भन्दै पदीय दुरुपयोग गरी संघको आजीवन सदस्य महरालाई तत्काल पक्राउ गर्न लगाएर गैह्र कानूनी रुपमा थुनामा राख्नका लागि जोडबल गरेको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ ।

संघले मन्त्री श्रेष्ठलाई भेटी व्यवसायीलाई सुनियोजित रुपमा दुःख हैरानी दिएको भन्दै महराको पेशा व्यवसाय नै बन्द गराउन राज्य शक्तिको दुरुपयोग भएको र ती कर्मचारीले गरेको त्यस्ता गैह्रकानूनी कार्यलाई रोकी तत्काल निलम्बन गर्न समेत माग गरेको छ । ती कर्मचारीले पदको दुरुपयोग गरी गैह्र कानूनी कार्य गरेको भन्दै निलम्बन गरेर हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ । साथै सम्मान पूर्वक पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले आफूले यो विषयलाई निकै गम्भिरताका साथ लिएको बताए । उनले पेशा व्यवसाय गर्ने नागरिकको नैसर्गिक अधिकार भएको भन्दै उक्त अधिकार कसैले पनि हनन् गर्न नसक्ने बताए । उनले कानून भन्दा माथि कोही पनि नहुने भन्दै संघलाई निश्चिन्त भएर आफ्नो पेशा व्यवसाय गर्न आग्रह गरे ।




Comments are closed.