रुकुमपश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका १० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उनि व्यावसायिक लसुन खेती गर्छन् ।
अहिले उनि वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि छन् । उनका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट रु एक लाख ६१ हजार आम्दानी गरे । “पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन”, उनले भने, “व्यावसायिक लसुनखेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ ।”
वडा कार्यालयले लसुनको व्यावसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश लसुन खेतीमा लागेको उनको भनाइ छ । यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहेका छन् । व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन् ।

“हामीले फलाएको लसुन किन्न व्यापारी गाउँमै आउछन्, बजारको कुनै पनि समस्या छैन”, सकुन्तला बुढाले भनिन् । व्यापारीलाई किसानसम्म सम्पर्क गरिदिने काम भने वडा कार्यालयले गरेको छ ।
“आर्थिक वर्ष २०७५/७६ देखि किसानलाई व्यावसायिक रुपमा लसुन खेतीका लागि बीउ वितरण गरेका छौँ, त्यसपछि यसमा लाग्नेको सङ्ख्या बढेको छ”, वडा अध्यक्ष धनबहादुर खड्काले भने ।
मुसिकोट नगरपालिका–१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ । सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ । लसुन उत्पादन बढाउनका चालु आवमा परियोजनाबाट रु १५ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार वडाका किसानले गत आवमा साढे तीन सय क्विन्टल लसुन बिक्री गरेका थिए ।
वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । उनका अनुुसार गत आवमा यहाँका किसानले रु ३५ लाखको लसुन बिक्री गरेका छन् । वडाबाटै प्रतिकिलो रु एक सय १० का दरले लसुन बिक्री गरिएको हो । रासस




Comments are closed.