काठमाडौं । संसदको पूर्वाधार विकास समितिमा स्वतन्त्र ऊर्जा उत्पादकका समस्या र समाधानका उपायहरुवारे छलफल भएको छ ।
छलफलमा ऊर्जा मन्त्री, सांसद, विद्युत नियमन आयोगका अध्यक्ष, ऊर्जा मन्त्रालयका पदाधिकारी र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) कार्यसमितिका पदाधिकारीको उपस्थितिमा समितिको बैठक सम्पन्न भएको छ ।
समितिको बैठकमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालले बिजुली बेचीपनि रहेको, उत्पादन खेर पनि गइरहेको र उपभोक्ताले मागेजति बिजुली नपाइरहेको अवस्था रहेको बताए । इप्पानका तर्फबाट उपमहासचिव प्रकाश दुलालले प्रस्तुतिकरणमार्फत ऊर्जा क्षेत्रमा स्वतन्त्र ऊर्जा उत्पादकले भोग्नुपरेका तमाम समस्याका वारेमा जानकारी गराएका थिए ।

बैठकमा सहभागिले ऊर्जा विकासका लागि आवश्यक वातावरण बनाउन राजनीतिक दलको प्रतिवद्धता जनाउने, ऊर्जा मन्त्रालयले नेतृत्व गर्नेगरी समन्वय समिति बनाएर एकद्वार प्रणालीमार्फत काम गर्नुपर्ने, ऊर्जा क्षेत्रको द्रूत विकासका लागि केही ऐन नियमहरु निलम्बन गरेर जानुपर्ने, ऊर्जा क्षेत्रको विकासका लागि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने लगायतका धारणा राखेका थिए ।
बैठकको अन्त्यमा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो धारणा सहित बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उनले नेपालले वार्षिक ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्दै जाने हो भने १० वर्षभित्र १० हजार मेगावाट विद्युत स्वदेशमै खपत हुने र त्यसका लागि मन्त्रालयले ऊर्जा खपत कार्ययोजना बनाइरहेको जानकारी गराए ।




Comments are closed.