पाटन । अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
“युवाले नै नेपालको रुपान्तरण गर्ने हो । विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सुक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्, “अर्थमन्त्री डा महतले भने, “युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ । युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही सदुपयोग गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानुभयो भने पनि फर्कनु होला ।”

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेको तर्क इङ्गीत गरे । उनले बजेटमा युवा उद्यमशीलाका लागि एक अर्ब रकम छुट्याएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताए । युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरे ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा सन् २००४ देखि दिवस मनाउने परिपाटी सुरु भएको बताउँदै चौबिसौँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा वार्षिक ६ देखि ७ लाख युवा विदेशिने गरेको तथ्याङ्क रहेको बताए । उनले सरकारलाई उद्यमशीलताका लागि कार्यक्रम ल्याउन र सोहीअनुसार युवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरे ।
कार्यक्रममा ९२ वटा युवा संस्था आबद्ध रहेको युवा संस्था सञ्जाल नेपाल (आयोन)का तर्फबाट अध्यक्ष विकल राईले युवाका आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको मागपत्र हस्तान्तरण गरे । रासस




Comments are closed.