
यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रू तीन लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए । विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही रू २० हजार, दुईवटा व्यापारीलाई जनही रू ५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो । त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो ।
भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० सम्मले घटेपनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन । भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ ।
यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो । रासस




Comments are closed.