
अवलोकनका क्रममा ‘पानामा विल्ट’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण९कल्चर०गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि’नामका बीजाणु भेटिएको रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिए । “प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ देखिएपछि पिसिआर प्रोडक्टलाई हङकङस्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा परीक्षण गर्दा यसमा ‘ट्रोपिकल रेस टिआर चार’ भएको पुष्टि भएको थियो”, उनले भने ।
अहिले ग्रिन हाउसमा तीन भिन्नभिन्न जातका केराका बोटलाई कृत्रिम रूपमा राखेर यसको लक्षण तथा विकासक्रमलाई अध्ययन गरिरहेको डा खड्काले बताए । “हामीले अहिले पनि अध्ययन गरिरहेका छौँ । त्यसको अनुसन्धानका लागि तीन सदस्यीय समिति पनि बनिसकेको छ” उनले भने, “त्यो बेला केही बारीको मात्रै नमुना ल्याएका थियौँ, अब सबै बारीको नमुनाको परीक्षण गरेपछि त्यसको नतिजा अनुसार अगाडि बढ्नुपर्छ ।”
केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताए । लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उनको भनाइ थियो ।
“रोग पुष्टि भएपछि हामीले सबै किसानलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ”, धामीले भने, “छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ ।” उनका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ । त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ । यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन् ।
केरा व्यवसायी खेमप्रसाद ढुङ्गानाले केरामा देखिएको रोगका कारण किसानलाई चिन्तित बनाएको बताए । केरामा राम्रो आम्दानी देखेर लाखौँ खर्च गरेर भरखरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको उनको भनाइ थियो । उनका अनुसार किसानले एक बिघादेखि एक सय बिघासम्म केरा खेती गर्दै आएका छन् ।
“बारीमा पानामा रोगको संक्रमण देखिएको विज्ञशरुले बताएका छन्”, ढुङ्गानाले भने, “यदी सङ्क्रमण सबै ठाउँ फैलियो र राज्यबाट उचित राहत प्याकेज नआउने हो भने कोही पनि किसान उठ्नसक्ने स्थितिको रहने छैन ।”




Comments are closed.