इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन, सर्वसाधारणको दैनिकी सहज

फिक्कल (इलाम) । बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

सञ्चार र विद्युतको उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि सर्व साधारण र  गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताए । गोठमा टुकी पन्छाएर सोलार जडान गरेका राईलाई विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ ।

इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो । अर्का स्थानीय रुकमान शेर्पाले भने, “हाम्रो अर्थतन्त्रको आधार नै गोठ राखेर पशुपालन गर्नु हो । सडक, खानेपानी सञ्चार, विद्युत्लगायत आधारभूत सुविधाविहीन गोठमा विद्युत् पुगेपछि स्वर्गझै भएको छ ।”

footwear zone

विद्युत् पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ । गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ । आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले सुनाइन् ।

इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युतको उज्यालो पु¥याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताए ।

विद्युतको उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टौं धाउनुपर्ने बाध्यता अहिले विद्युत् विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन् । रासस

You might also like

Comments are closed.