सुगाले मकैबाली सखाप

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताइन् । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उनले भनिन्, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उनले बताइन् ।

उनका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्”, सिमलफाँटाका रामबहादुर चौधरीले भने, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

footwear zone

उनले गुनासो पोख्दै भने, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उनले उल्लेख गरे । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।
सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताए । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उनको भनाइ छ । रासस

You might also like

Comments are closed.