गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

टक्सार (भोजपुर) । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताए ।

“पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ”, उनले भने, “पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।” मगरका अनुसार जिल्लाका ग्रामीण क्षेत्रका खेतबारीमा अहिले मिनी टिलरले जोतेको देख्न सकिन्छ ।

पछिल्लो समय युवा रोजगारी, शिक्षा लगायतका लागि जिल्ला बाहिर जान थालेपछि पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको किसान तिर्थ श्रेष्ठले बताए । उनले खेत जोत्ने गोरु पहिलाको तुलनामा पाउन छाडेकाले अहिले विकल्पका रुपमा टिलर बनेको बताए । सुरुमा प्राविधिक ज्ञानको अभावले टिलर सञ्चालनमा समस्या भए पनि अहिले खेती गर्न निकै सहज भएको उनको भनाइ थियो ।

footwear zone

किसानले जेत्न मिनी टिलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेसिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसरलगायतका आधुनिक औंजारको प्रयोग गर्न थालेपछि यसको कारोबार बढेको मगरले बताए । उनका अनुसार कृषि औंजारमध्ये जोत्नका लागि मिनी टिलर हलो अत्यधिक बिक्री हुने गरेको छ ।

कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार थोरै समयमा धेरै काम गर्न सकिने तथा प्रयोग गर्न पनि सजिलो भएकाले किसानलाई अनुदानमा टिलर वितरण गरिएको हो ।

आधुनिक टिलरले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्न सकिने किसान सीताराम प्रधानले बताए । “गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत काम छिटो हुन्छ । गोरुको झन्झट गर्नु परेन् । काम गर्न सजिलो पनि हुन्छ”, उनले भने ।

किसानलाई सहुलियतरुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत मिनी टिलर हलो वितरण गर्न थालिएको केन्द्रका प्रमुख गणेश खत्रीले बताए । गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि किसानको रोजाइमा पर्नुका साथै प्रभावकारी बन्दै गएको उनको भनाइ थियो । रासस

You might also like

Comments are closed.