बाँके । नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादन तथा विक्री वितरण सुरु भएको छ । कोक्रोमा नेपाली बालबालिकाको कपडा ब्रान्ड हो । नेपालगन्ज १० भृकुटी नगरकी महिला उद्यमी निता जिसीले दसैंको अवसरमा अनलाइन मार्फत कोक्रोमाको विक्री वितरण सुरु गरेकी हुन् ।
नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले दसैंको अवसर पारेर कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको बताईन् । बालबालिकाका लागि उत्पादन गरिएका कोक्रोमाको फ्रेन्चाइच उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको उनले बताईन् ।
जेल जीवन बिताइरहेका कैदी महिला तथा सीमान्तकृत महिलाले बुनेका कपडाहरू यस ब्रान्डमा प्रयोग गरिँदै आएको जिसीले जानकारी दिइन् । जिसीले त्यसता महिलाहरूको सीप तथा आर्थिक अवस्थामा वृद्धि गरी उनिहरूलाई सशक्त बनाउन कपडा प्रयोगमा ल्याइएको बताइन् ।

नाना चाचाले कपासद्वारा कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण गर्दै आएको छ । हाल काठमाडौँमा मात्र उत्पादन गरिए पनि अव बिस्तारै सेवा विस्तार गरेर नेपालगञ्मा पनि उत्पादन सुरु गरिने जिसीले जानकारी बताइन् । पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरि जाडो तथा गर्मी सबै सिजनका कपडाहरू उत्पादन गरी विक्री वितरण गरिरहेको छ नाना चाचाले ।
कोक्रोमाको उत्पादनहरू रसायन र एलर्जीहरूको जोखिम कम गर्ने खालका जैविक कपडाहरू भएको उनले बताइन् । आगामी दिनमा बालबालिकाको पास्नी र न्वारानको लागि कम्बो उपहार प्याक र पोषणयुक्त आहाराहरू पनि उपलब्ध गराउने उनको योजना छ ।
अहिले बाँकेको नेपालगन्ज, खजुरा र कोहलपुर क्षेत्रमा सेवा दिने लक्ष्य रहेको र आगामी दिनमा माग बढेमा लुम्बिनी र कर्णाली प्रदेश भरि नै सेवा विस्तार गरिने उनले बताइन् ।
काठमाडौंमा होटेल म्यानेजमेन्ट विषय अध्ययन पश्चात् ६ वर्ष चीनमा बसी त्यहाँको एक पाँच तारे होटेलमा अतिथि सम्बन्ध प्रबन्धकको रूपमा काम गरेको अनुभव जिसीसँग छ । नेपालमा सभा नेपालद्वारा सञ्चालित द भिलेज क्याफेमा अपरेसन म्यानेजरको रूपमा समेत उनले काम गरिन् । अङ्ग्रेजी र चिनियाँ भाषामा राम्रो दक्षता भएकी उद्यमी जिसीसँग कफी बरिष्टाको पनि ज्ञान छ ।
तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरु विक्रीवितरण गर्दै आएको नाना चाचाले तिहारको अवसर पारेर नेपाली संस्कृति र परम्परा जोगाउने उद्देश्यले ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो ।
पछिल्लो समयमा नयाँ पुस्ताले विदेशी संस्कृति तथा परम्परा अत्यधिक मात्रामा पछ्याउँदै जाँदा नेपाली पहिरन, पोशाक, कला, संस्कृति, भेषभूषा तथा परम्परा बिर्सदै जान थालेकाले सानै उमेरका बालबालिकाहरुबाट नै नेपाली पोशाकको संरक्षण गर्ने उद्देश्यले शिशु फोटो प्रतियोगिता आयोजना गरिएको सञ्चालक जिसीले बताइन् ।
“दसैं तिहारको छुट्टीको अवसरमा बालबालिका पनि आफ्ना अभिभावकसँगै हुन्छन्, उनीहरुलाई सानैबाट नेपाली पोशाक र पहिरनका बारेमा जानकारी पनि दिनुपर्छ, सिकाउनुपर्छ, आफ्नो कला संस्कृति जोगाउनुपर्छ भन्ने सानैबाट उनीहरुले जान्नुपर्दछ ।,” सञ्चालक जिसीले भनिन् “छुट्टीको अवसरमा अतिरिक्त क्रियाकलाप गर्दा बालबालिकाहरु पनि खुसी हुने र आफ्नो भेषभूषा पहिरनका बारेमा पनि बुझ्ने अवसर पाउनुका साथै प्रोत्साहित पनि हुने हुँदा हामीले प्रतियोगिताको आयोजना गरेका हौं ।”
प्रतियोगितामा एकदेखि पाँच वर्षसम्मका बालबालिका सहभागि हुन पाउने छन् । उनका अनुसार प्रतियोगितामा भाग लिने बालबालिकाले अनिवार्य रुपमा नेपाली परम्परागत पोशाक लगाउनुपर्नेछ साथै कार्तिक १२ गतेदेखि ३० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन निःशुल्क रुपमा दिनसकिने उनले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागि बालबालिकाबाट २० जनालाई छनोट गरी विभिन्न विधामा विजेता घोषणा गरी आकर्षक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।





Comments are closed.