आगलागी हुँदा २५ लाख भन्दाबढीको क्षति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद २ लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेका छन् । धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।

footwear zone

धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् । रासस

You might also like

Comments are closed.