६७ करोड रुपैयाँ बराबरको राजस्व छली

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी ६७ करोड रुपैयाँ बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले रु ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी, झुटा खरीद देखाइ विभिन्न फार्मलाई बिक्री बीजक मात्र जारी गरेको पाइएको छ । उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ ।

अनुसन्धानमा भ्याटतर्फ १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल ४१ करोड ५१ लाख ३१ हजार रुपैयाँ राजस्व चुहावट गरेको खुलेको छ ।

footwear zone

यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले २५ करोड ३५ लाख ४१ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ । उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।

You might also like

Comments are closed.