सुशीला रेग्मी, रामपुर । कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग बढेपछि बिहीबारदेखि सेवा पुनःसञ्चालन गरिएको छ ।
मन्त्रालयले सरुवा गरी खटाएका कर्मचारी हाजिर हुन नआएपछि विगत तीन महिनादेखि कार्यालय प्रमुखविहीन बनेको इलाका प्रशासन कार्यालयमा बिहीबारदेखि जिल्लाबाटै कर्मचारी खटाएर सेवा दिन थालिएको छ ।
हाललाई जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई कामकाजका लागि परिचालन गरेको छ । पहिलो दिन बिहीबार १८ वटा नयाँ नागरिकता जारी गरिएको र सात वटा प्रतिलिपी दिएको प्रशासकीय अधिकृत श्रेष्ठले बताइन् ।

जागिर खान, विदेश जान, घरायसी विभिन्न अवस्थाले गर्दा तत्काल नागरिकता आवश्यक परेकालाई धेरै राहत मिलेको उनले बताइन् । साथै कार्यालयबाट बिहीबार एउटा द्रुत राहदानी सिफारिस सेवासमेत दिइएको छ ।
कार्यालय प्रमुखको अर्को व्यवस्था नहुँदासम्म हाललाई बिहीबार र शुक्रबार हप्तामा दुई दिन कार्यालयको कामकाजका लागि कर्मचारी पठाएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए । पटकपटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी पाण्डेय बताउँछन् । उनका अनुसार कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको छ ।
“कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान् भक्त अर्यालको दरबन्दी परेको छ”, अर्याल आफैँले पहिला रामपुरमा सरुवाको माग गरे तर अहिले उनले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, कार्यालय प्रमुखको अर्को व्यवस्था नहुँदासम्म हप्तामा दुई दिन जिल्लाबाटै कर्मचारी परिचालन गरी सेवा दिन थालेका छाँै”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
‘कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा’ भन्ने शीर्षकमा राससमा गत साउन ६ गते समाचार प्रकाशन भएको थियो । तीन महिना सम्म कार्यालय प्रमुख नहुदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य थिए ।
यहाँ २०७७ चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि नागरिकले सेवा लिन नपाएका हुन् । कार्यालय प्रमुखविहीन अवस्थामा अत्यावश्यक सेवाबाहेक अभिलेख राख्ने, दर्ता चलानी, अनुसूची भएकामा सनाखत गर्ने, कार्यालय रेखदेखलगायतको काम भने यथावत् नै चलिरहेको थियो ।
गृह मन्त्रालयको विसं २०७७ चैत १६ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) बमोजिम भगवानभक्त अर्याललाई इलाका प्रशासन कार्यालय रामपुरको प्रमुखका रुपमा पदस्थापनको जिम्मेवारी तोकिएको थियो । सरुवा भएका कर्मचारीले तोकेको ठाउँमा हाजिर हुन नजाँदा सेवा प्रवाहमा समस्या परेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोवार सञ्चालन गर्ने गरी कार्यभार तोेकेर काम सम्पन्न गरेको छ । सदरमुकामदेखि टाढा रहेकाले पनि कार्यालय प्रमुख नहुदा नागरिक पटकपटक समस्यामा पर्ने गरेका छन् । शहर बजारदेखि टाढा, सडक समस्या, ग्रामीण भेग भएकाले बेला बेलामा समस्या हुने गरेको हो ।
यसभन्दाअघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाती प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो ।
यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह–लेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ ।
जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते यो कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।




Comments are closed.