‘निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएको छन् । बुधबार बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताए ।

उनले भने, “विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउनेछौँ ।” निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विभिन्न दलका शीर्ष नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए ।

सोही पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरु हुनेसमेत जिकिर गरे । पत्रकारले सोधेका प्रश्नको जवाफमा मन्त्री आलेले भने, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरुआत गर्नेछौँ ।”

footwear zone

यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति भएकाले यहाँ जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

काठमाडौं पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनःस्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

You might also like

Comments are closed.