सिलिण्डर संकलन गर्दै प्रहरी

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर संकलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर संकलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कोभिड संक्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर संकलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर संकलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर संकलन गरिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिण्डर संकलन गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर विभिन्न अस्पतालमा पठाउने गरी संकलन गरिएको भुसालले जानकारी दिए । संकलन गरिएको सिलिण्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।

footwear zone

यस्तै तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिण्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिण्डर पनि संकलन गरिने प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिण्डर संकलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको थियो ।

दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिण्डर जथाभावीरूपमा फालिएको भेटिएको थियो । प्रयोगमा आएका सिलिण्डर जथाभावीरूपमा फालिएको तस्वीर सार्वजनिक भएपछि ती सिलिण्डर संकलन गर्नुपर्ने आवाज उठेको थियो । अक्सिजनको सिलिण्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ । कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिण्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ ।

You might also like

Comments are closed.