अक्सिजन बैंक स्थापनाको तयारी

झापा । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्नेे भएको हो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताए । उनले १५ दिनभित्रमा रु. १२ लाखको लगानीमा दुई सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक शुरु गर्ने बताए ।

उनले कोरोना संक्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताए । संयोजक गरीले कोभिड सूचना तथा सहायता केन्द्रको समेत स्थापना गरेर कोरोना संक्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिए ।

footwear zone

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । रु. एक करोड २ लाख ५६ हजारको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई रु.११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

You might also like

Comments are closed.