एक अर्ब लगानीमा नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट

काठमाडौं । शंकर ग्यास प्रालिले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा प्लान्ट स्थापना हुन लागेको हो । प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने प्रवन्ध निर्देशक शंकर अग्रवालले बताए ।

कम्पनीले २०५६ सालमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १०० क्युबिक मिटर प्रतिघण्टाको उत्पादन क्षमताको अक्सिजन ग्यास प्लान्ट जडान गरेको थियो । २०६० सालमा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भए पछि पुनः सोही स्थानमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरेको छ । २०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

कोभिड–१९ को दोस्रो लहरको कारण मुलुकभर अक्सिजनको अभाव हुँदा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरेपनि त्यसले पर्याप्त नभएपछि थप लगानी गरिएको अग्रवालले बताए । ‘यसले अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने अपेक्षा राखेका छौं,’ उनले भने, ‘लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकाले सामान्य अक्सिजन ग्यास भन्दा यसको मूल्य कम पर्ने कारणले एउटै मूल्यमा देशभर अक्सिजन उपलब्ध गराउने हाम्रो प्रयत्न रहेको छ । अक्सिजनकै अभावमा मानवीय क्षतिमा कमी आउने आशा गरेका छौं ।’

footwear zone

लिक्विड अक्सिजन प्लान्टको शिलान्यास कार्यक्रममा बोल्द प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए । ‘महामारीको दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्री ओलीले भने, ‘अक्सिजनमा आत्मनिर्भरता बढाउन अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रबन्ध सरकारले कार्यान्वयनमा ल्याएको छ ।’ उनले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।

पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको बिषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको उल्लेख गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले उद्योगलाई प्रदेश सरकारले पनि दिन सक्ने सहुलियत प्रदान गर्ने उल्लेख गरे । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गरेका थिए ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।

You might also like

Comments are closed.