पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा साउन महिनाभित्र ३ वटा अक्सिजन प्लान्ट जडान हुने भएको छ । बतास फाउण्डेसनको अगुवाईमा हस्पिटलमा अक्सिजन प्लान्ट स्थापनाको तयारी भएको हो । प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन गर्नसक्ने गरी ३ वटा प्लान्ट जडान गर्न लागिएको बतास फाउन्डेसनका अध्यक्ष एवं अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए ।
अक्सिजन प्लान्ट निर्माणका लागि उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, गैरआवासीय नेपाली लगायतले सहयोग गरेका छन् । यो अभियानका लागि हालसम्म ३ करोड १२ लाख ७५ हजार रुपैयाँ खातामा जम्मा भइसकेको कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।
अक्सिजन प्लान्ट जडानका लागि मेडिअक्सी प्रा.लि. सप्लायर छनौट भएको छ । संकलन गरिएको रकम मध्य ३ करोड ७ लाख रुपैयाँ सप्लायरलाई अग्रिम भुक्तानी गरिसकिएको छ । ३ वटा अक्सिजन प्लान्ट र एउटा फिलर सिस्टम खरिद भइसकेको र फ्रान्सबाट कार्गोमार्फत नेपाल आउने चरणमा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

अक्सिजन प्लान्टसँगै हस्पिटलका लागि आवश्यक पर्ने भेन्टिलेटरका लागि सहयोग संकलन अभियान जारी रहेको फाउण्डेसनले जनाएको छ । पवित्र योजनासहित सुरु भएको अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।





Comments are closed.