पानखेती : १५ वर्षसम्म दर्बिलो आम्दानी

बनियानी । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए ।

“नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उनले भने, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।” समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो । समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको छ । “आयात धेरै हुने भएकाले यही जातको पानखेती गर्न थालिएको हो”, उनले भने, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”

आफूहरुले सुरु गरेको पानखेती ठूलो नभए पनि आउने पुस्ता र पानखेती गर्न चाहनेका लागि उपयोगी हुने समूहका अर्का सदस्य कृषक सन्तबहादुर तामाङले जानकारी दिए । “यसबाट अरुले सिक्ने अवसर मिल्छ”, उनले भने, “अरुलाई समेत पानखेतीमा जोड्नसके पान खरिदमा विदेशिइरहेको ठूलो धनराशि बचत हुन्छ ।”

footwear zone

अन्य खेतीको तुलनामा पानखेती गर्दा सुरुमा अलि बढी नै लगानी हुने भएकाले पानखेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकको जोड छ । सो कृषक समूहले सुरु गरेको पानखेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । रु १५ लाख लगानीमा सुरु गरेको खेतीबाट मासिक रु एक लाख आम्दानी भइरहेको छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पानखेती एकपटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने समूहका सदस्य त्रिलोचन खरेलले जानकारी दिए ।

झापामा मासिक चार लाख थान पानको पातको माग रहेको उनले बताए । आफूहरुले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उनले जानकारी दिए । “आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उनले भने, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाइ रुपैयाँका दरले पात किनेर लान्छन् ।”

अन्य बालीको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने पानखेतीमा सरोकारवाला निकायले ध्यान दिनसके आयात प्रतिस्थापनसँगै कृषकका लागि दर्बिलो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।

 

You might also like

Comments are closed.