सिमकोटमा प्याड बैंक स्थापना

सिमकोट । हिमाली जिल्ला हुम्लामा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ । हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा ‘सेनेटरी प्याडको आवश्यकता, सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।

महिनावारी भएका महिलाका लागि कम्पनीको अधिकतम खुद्रा मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ प्याड बैंक स्थापना गरिएको हेड नेपालका छोमु लामाले बताए । सडक सञ्जालसँग नजोडिएको हुम्लामा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले निःशुल्क प्याड ढुवानी गर्ने भएका कारण सिमकोटमा सहुलियतमा बिक्री गरिने भएको हो ।

सिमकोटमा आइपुगेका प्याड सर्वसाधारणसम्म पुग्नका लागि हिमाली शिक्षा र विकास हेड नेपालको कार्यालय, डोमा जनरलस्टोर, न्यू हिमालय ट्रेडिङ हाउस र विकास जनरलस्टोरमा पाइने भएको लामाले बताए । हिमाली शिक्षा र विकास हेड नेपालका कार्यसमिति अध्यक्ष नाम्ग्याल तामाङको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्याड उपलब्ध गराउनुभन्दा प्याडको प्रयोगमा सबैले जोड दिनुपर्ने बताइएको छ ।

footwear zone

प्याडको प्रयोगलाई स्थानीयस्तरसम्म जानकारी गराउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले जिल्लामा विगतको समयमा कुरीतिको रूपमा हेरिने भए पनि अहिले समयानुकूल शिक्षाले परिवर्तन गरिसकेपछि महिनावारीलाई सामान्य रूपमा हेरिने भएकाले जिल्लाका शिक्षित महिलाले ग्रामीण बस्तीका महिलालाई प्याडको प्रयोगका साथै शारीरिक सरसफाइमा जोड दिनुपर्ने बताए ।

You might also like

Comments are closed.