वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।
गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना पलाउने बेला देखिएको किराको प्रकोप र बेमौसमी वर्षाले पु¥याएको नोक्सानीका कारण अपेक्षित उत्पादन हुन नसक्दा किसान निरास भएका हुन् ।
पर्सा जिल्लामा विशेषगरी चैते, अगहनी, भदैयालगायत प्रजातिका धान रोप्ने गरिन्छ । यस वर्ष बेमैसमी वर्षा र किराको प्रकोपका कारण धान उत्पादनमा कमी आउँदा किसान निरास भएको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाह बताउँछन् ।

असार महिनाको सुरुदेखि नै मौसमले साथ दिएका कारण यस वर्ष धानको बाली अत्यन्त राम्रो देखिएको र उत्पादन पनि गत वर्षभन्दा धेरै राम्रो हुने अपेक्षा गरिए पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र खैरो फड्के किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
गत वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा प्रतिहेक्टर ४.८५ मेट्रिकटनको औसतले दुई लाख २८ हजार ५ सय ६० मेट्रिकटन उत्पादन भएको थियो । त्यसको तुलनामा यस वर्ष ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा भएको रोपाइँबाट प्रतिहेक्टर ४.९४ मेट्रिकटन औसतले दुई लाख ३३ हजार १ सय ३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले जानकारी दिए ।
उनले गत वर्ष पर्सामा ३५ हजार हेक्टर अगहनी, तीन हजार ५ सय हेक्टर चैते र आठ हजार ५ सय ५० हेक्टर भदैया रोपिएको थियो । यस वर्ष अगहनी ३५ हजार २० हेक्टर, चैते ३ हजार ५ सय ५० हेक्टर र भदैया आठ हजार ५ सय ६० हेक्टर भएको उनले बताए ।
गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिकटनको औसतले एक लाख ६६ हजार २ सय ५० मेट्रिकटन अगहनी, ५.१ मेट्रिकटन प्रतिहेक्टरको औसतले १७ हजार ८ सय ५० मेट्रिकटन चैते र ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४४ हजार ४ सय ६० मेट्रिकटन भदैया धानको उत्पादन भएको अधिकृत कुर्मीले जानकारी दिए ।
उनले यस वर्ष असार महिनाको सुरुदेखि आकासे पानी परेका कारण धानको बिरुवा राम्ररी पलाएको र उत्पादन पनि राम्रो हुने किसानले आसा गरे पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको बताए । ४.८ मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ६८ हजार ९६ मेट्रिकटन अगहनी, ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले १८ हजार ८ सय १५ मेट्रिकटन चैते र ५.४ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४६ हजार २ सय २४ मेट्रिकटन भदैया धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।
किसानलाई आवश्यक मल, उन्नत जातको बीउ र सिँचाइ सुविधा सरकारले समयमा उपलब्ध गराए खाद्यान्नमाथि हाल देखिएको परनिर्भरतालाई विस्तारै घटाउन जान सकिने विश्वास कृषि कार्यालयका अधिकृतको छ । पर्सा जिल्लामा रहेको ५४ हजार ७ सय ३२ हेक्टर खेतीयोग्य जग्गामध्ये २९ हजार ८ सय ३१ हेक्टर मात्र सिञ्चित क्षेत्र रहेको छ ।




Comments are closed.