पहिरो पन्छाउन अन्तर जिल्ला समन्वय बैठक

चितवन । वर्षाका कारण खस्ने पहिरो तत्काल पन्छाउन सरोकारवालाबीच अन्तर जिल्ला समन्वय बैठक बुधबार चितवनमा सम्पन्न भएको छ । चितवन, धादिङ र तनहुँका सुरक्षा निकाय र सडक कार्यालयका प्रमुखका बीचमा बैठक भएको हो ।

पहिराका कारण लामो समय सडक अवरुद्ध हुने गरेपछि बैठक गरिएको हो । विभिन्न समयमा जाने पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गलाई निरन्तर सञ्चालनका लागि अन्तर जिल्ला समन्वय बैठक गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

बैठकले तीन जिल्लाका सडकमा सम्भावित जोखिम ठाउँ पहिचान गरेको उनले जानकारी दिए। तामाङका अनुसार चितवनतर्फ पाँच ठाउँ, धादिङमा चार ठाउँ र तनहुँमा एक ठाउँ पहिचान गरिएको छ । उनले भने, “ठाउँ पहिचान भएको स्थानमा यान्त्रिक उपकरणसहित सुरक्षाकर्मी परिचालन गरी तत्काल पहिरो पन्छाउने काम गरिनेछ ।” पहिचान भएका स्थानमा असारदेखि भदौसम्म यान्त्रिक उपकरण राखिनेछ । त्यहाँ सुरक्षाकर्मीसमेत परिचालन गरिने छ ।

footwear zone

पहिरो गएपछि हुने ट्राफिक व्यवस्थापन तीन जिल्लाको समन्वयमा यात्रुलाई गन्तव्यमा सहजरूपले पुर्‍याउने, अपुग यान्त्रिक उपकरण सडक विभागसँग माग गर्ने, विपद्का समयमा राजमार्गको सुरक्षा र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने र तीनै जिल्लाको शान्तिसुरक्षा, अपराध नियन्त्रणका विषयमा छलफल भई निर्णय भएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पहिराबाट लामो समय हुने गरेको अवरोध हटाउनका लागि बैठक प्रभावकारी हुने अपेक्षा गरिएको बताए। बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, डिभिजन सडक कार्यालयका प्रमुख, रसौली विपद् व्यवस्थापन गणका गणपति, नारायणगढ–नागढुङ्गा सडक आयोजनाका प्रमुखको सहभागिता रहेको थियो ।

नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्गमा केही दिनअघि पहिरो खस्दा चितवनबाट काठमाडौँ पुग्न ३० घण्टासम्म लागेको यात्रुले गुनासो गरेका थिए ।

You might also like

Comments are closed.