माग बढेपछि प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

रमेश गिरी/भक्तपुर । नेपालीहरुको दोश्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । माग धेरै भएको र तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका उक्त समुदायका सिङ्गो परिवारलाई नै यतिखेर पाला बनाउन भ्याइनभ्याई भएको हो ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायत स्थानका प्रजापति समुदायलाई यतिखेर पालालगायत अन्य सामाग्री बनाउन फुर्सदै छैन ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट र धुपौरोको थुप्रै माग भएकोे छ, तिहारका लागि सामान जसरी पनि दिनैपर्छ । अहिले भ्याइनभ्याई छ” वर्षौदेखि माटोको भाँडा बनाउदै आएका तालाको पोर्टरी स्क्वायरका विनोदकुमार प्रजापतिले भने ।

footwear zone

वर्षभरीमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको बताए । माटोको भाँडा बनाउने आधुनिक उपकरणमा पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गरेको जानकारी दिए । पालाका साथै धुपौरो र घैँटो बनाउन ब्यस्त उनले यस वर्ष साना र ठूला दुबै प्रकारका पालाको माग बढेकाले मागबमोजिम उत्पादन गर्न निकै गाह्रो भएको बताए ।

यतिखेर पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापतिमध्ये कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइ रहेका, कोही आधुनिक भट्टीमा भाँडा पोलिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै अर्डर आएको ठाउँमा सामान पु¥याउन तरखरमा लागेका देखिन्छ ।
पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि एकछिन पनि हात खाली देखिँदैन । बराजुको पालादेखि माटोको भाँडा बनाउदै आएको उनको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन् ।

उनले भने, “यस वर्ष पालाको माग धेरै छ, तिहार लागिसक्यो, माग अनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।” विगत दुईवर्ष कोरोना सङ्क्रमणका कारण उत्पादन र माग कम भए पनि यसवर्ष भने माग ह्वात्तै बढेकाले उक्त समुदायलाई भ्याइनभ्याई भएको हो ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको बिनोदकोे भनाइ थियो ।

तीन वर्ष अगाडिसम्म तिहारमा सय थान पालाको रू ९० देखि रू ११० रुपैयासम्ममा बिक्री हुने गरे पनि यसवर्ष बढेर व्यापारीलाई होलसेलमा प्रति पाला रु. २ मा बिक्री गर्ने गरेको र खुद्रा भने रू ४ मा बिक्री भएको उनीहरूले बताए ।

बिनोदले भने, “माटो र काठको निकै अभाव छ, सरकारले विद्युतीय चुलोको व्यबस्था गरिदिए अझ सहज हुन्थ्यो यस वर्ष हामीले एउटा पालाको रु. दुईमा व्यापारीलाई बिक्री गरेका छौं, खुद्रा भने रु. चार रुपैयाँमा बिक्री भइरहेको छ ।”

माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको सात वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागबमोजिमको आउदैन, माटोको अभावले पेशा नै सङ्कटमा पर्ने अबस्था आएको उनीहरूको गुनासो थियो ।

एक मिनीट्रक माटोको व्यापारीले रु १० हजार लिने गरेको दयारामले बताए । अहिले भूकम्पले भत्किएका घरको दाउरा सस्तोमा किनेर भाँडा पोल्दै आएका उनीहरूमा माटो र काठ अभावले पेशा नै रोकिने हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ ।

भक्तपुरका साथै पालाको माग बाहिर जिल्लादेखि अन्तराष्ट्रिय बजारमा समेत हुने गरेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याई भएको मध्यपुर थिमिका रुजेन प्रजापतिले बताए । विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे भने कतिपय जिल्लामा बसोबास गरेका कुमालेले स्थानीय स्तरमै भाँडा बनाउने गरेपनि अहिले यो परम्परा लोप हुने स्थितिमा पुगेकाले भक्तपुरमा यसको माग बढेको कुमाले बलराम प्रजापतिले बताए ।

तालाकोमा पुखौंदेखि माटोको भाँडा बनाउदै आएको उनको परिवारका सदस्य पनि यही पेशमै व्यस्त देखिन्छन् । पुर्खादेखि गर्दैआएको काम छोड्न नसकिएको तर यसबाट घरखर्च मात्र चल्ने गरेको उनको भनाइ थियो ।

तिहार सकिए पछि केही फुर्सद होला, नत्र यत्तिकै हो भन्दै घरका पुरुष माटो मुछ्ने, भाँडा बनाउने, भाँडा पोल्नेलगायत काममा व्यस्त देखिन्छन् भने महिलाहरु भाँडा सुकाउने, रङ्ग लगाउने र व्यबस्थापन मै व्यस्त रहेको देखिन्छ ।

काठमाण्डौं उपत्यकाका साथै बाहिरबाट लाखौ पालालगायत अन्य सामाग्रीको अर्डर आएपछि कुमाले समुदायलाई भ्याइनभ्याई भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग पूर्ति गर्न व्यस्त छन् ।
थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको अर्डर लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनीहरूको भनाइ थियो ।

 

You might also like

Comments are closed.