पशुपतिमा पुरातात्विक महत्वका सामग्री प्रदर्शन नगरिने

काठमाडौं । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ ।

बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

बहुमूल्य सामग्री पशुपति मेलामा आउने भक्तजनलाई लक्ष्य गरी वर्षमा एकपटक देखाउने प्राचीनकालदेखिको परम्परा यस वर्ष स्थगित गरिएको हो । गत वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आगामी पुस १ गतेदेखि खुला गरिने कोषले जनाएको छ ।

footwear zone

मङ्सिर ३० गते पशुपतिमा क्षमा पूजा

मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमा पूजा गरिने पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । मन्दिर खोल्न सुरक्षालगायत तयारी पनि भइरहेको छ । मास्कबिनाका भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइने कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।

मन्दिर छिर्ने भक्तजनलाई ढोकामा बस्ने सुरक्षाकर्मीले स्यानेटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । भक्तजनलाई दुई मिटरको दूरीमा राख्ने गरी व्यवस्था मिलाइनेछ । करिब नौ महिनापछि मन्दिर खोल्दा एकैपटक भक्तजनको भीड लाग्न सक्ने भएकाले सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई अनुरोधसहित सुरक्षाको विषयलाई लिएर बैठकसमेत गरिएको कोषले जनाएको छ ।

You might also like

Comments are closed.