पोखरा । पोखरा उद्योग वाणिज्य संघले बिहानदेखि मध्यान्नसम्म सीमित व्यवसाय संचालनको अनुमति व्यवहारिक नभएपनि स्वागतयोग्य भएको जनाएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गरी अव्यवहारिक समयमा पसल खोल्नु र नखोल्नुको कुनै अर्थ नभएपनि प्रशासनको निर्णय निषेधाज्ञा खुकुलो बनाउने दिशातर्फ उन्मुख भएको ठहर गरेको छ । कास्की प्रशासनले मंगलबारदेखि जिल्ला कोभिड व्यवस्थापन समितिले असुरक्षित मानेका बाहेकका व्यवसाय मध्यान्न १२ बजेसम्म सुरक्षा मापदण्ड अपनाएर खुल्ला राख्ने निर्णय गरेपछि संघले सो धारणा सार्वजनिक गरेको हो ।
संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ प्रशासनले व्यवसाय संचालनको लागि तोकेको समयावधि उपयुक्त हैन र यो समयमा व्यवसाय खोल्नु र नखोल्नुमा कुनै तात्विक भिन्नता छैन । यद्यपि, यो निर्णयलाई हामीले निषेधाज्ञा खुकलो बनाउँदै जाने दिशातर्फको सकारात्मक कदमको रुपमा स्वीकारेका छौँ ।’

संघले तोकिएको समयसीमा रही सुरक्षित तरिकाले व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह पनि गरेको छ । आन्तरिक राजश्व विभागबाट असार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकिएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाइनुलाई कर असुलीको बहाना नबनोस् भन्ने पनि संघको माग रहेको छ । आन्तरिक राजश्व कार्यालयले कर असुलीको समयसीमा बढाउनुपर्ने संघको माग छ । संघका महासचिव विजुक्छेका अनुसार निषेधाज्ञाको बेलामा सामाजिक उत्तरदाियत्व बहन गर्दै संघले विभिन्न बस्तुगत संघहरुसँगको समन्वयमा पोखराको लामाचौरमा रहेको मातृशिशु मितेरी अस्पताल, लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र शिशुवा सामुदायिक अस्पताललाई हामीले आवश्यक स्वास्थ्य तथा भौतिक सामग्री प्रदान गरेको छ ।





Comments are closed.