बैंकले ल्याएको नयाँ कर्जा व्यवस्थाप्रति पोउवा संघको ध्यानाकर्षण

पोखरा । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सम्बन्धी ल्याएको नयाँ व्यवस्थाप्रति सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।

संघका महासचिव बलराम आचार्यले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै निक्षेप र कर्जाको ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले गर्दा कर्जा लिएर व्यापार व्यवसाय गरिरहेका उद्योगीहरूलाई मात्र असर परेको छैन, यसले राज्यको आर्थिक वृद्धिमा नकारात्मक असर परीरहेको र केही व्यवसायी एवं उद्योगी बन्द गर्ने सोचमा पुगिसकेको भन्दै सरोकारवालालाई  ध्यानाकर्षण गराएको हो।

साथै अनुगमनको नाममा उद्योगी व्यवसायीलाई आतंकित नबनाई सही रूपमा व्यापार व्यवसाय सन्चालन गर्ने वातवरण प्रदान गर्न अनुरोध समेत संघले गरेको छ ।

footwear zone

संघको जारी विज्ञप्तिमा भनिएको छ, ‘एकल अंकको ब्याजदरमा रहेका उद्योगी व्यवसायीलाई ६ महिनाको समयपनि नपुग्दै दोब्बर ब्याज वृद्धिले गर्दा साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ । जसले गर्दा उत्पादित सामानहरुको पनि मूल्य आकाशिदै छ । चाडबाडको मौकामा यसको बिकराल असर आम साधारणलाई पनि हुने देखिन्छ । निक्षेप र कर्जाको ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले गर्दा कर्जा लिएर व्यापार व्यवसाय गरिरहेका उद्योगीहरूलाई मात्र असर परेको छैन, यसले राज्यको आर्थिक वृद्धिमा नकारात्मक असर परेको छ । राष्ट्र बैंकले हालै मात्र जारी गरेको चालु पुंजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केहि प्राबधान समेत व्यवसायी र उद्योगीको हितमा छैन जसले गर्दा व्यवसायी चिन्तित छन् भने केहि व्यवसायी एवं उद्योगी बन्द गर्ने सोचमा पुगिसकेको छ ।हामी निजी क्षेत्र, उद्योगी, व्यवसायी भनेको अर्थतन्त्र सबल पार्न सदैव अभिप्रेरित छौं । यसप्रकारका अर्थतन्त्र प्रति नकारात्मक असर गर्ने खालका नीति नियमले आर्थिक समृद्धीको परिकल्पना गर्न नसकिने हुँदा ब्याजदर वृद्धिको निर्णयलाई तत्काल स्थगन गरी सरल व्यवसाय गर्ने वातावरण सिर्जना गर्न गराउन समयमै उचित पहल कदमी गरियोस् भनी सरोकारवाला समक्ष अनुरोध गर्दछौं ।’

त्यसैगरी, संघले बजार अनुगमनको नाममा विभिन्न निकायहरुबाट बजार अनुगमन भन्दै उद्योगी व्यवसायीहरूलाई आतंकित पार्ने कार्य केही दिन यता भईरहेकोप्रति पनि संघ सरोकारवाला निकायप्रति ध्यानाकर्षण गराउदैँ अनुगमन एकद्वार प्रणालीबाट गरियोस् भन्ने माग समेत राखेको छ ।

 

 

You might also like

Comments are closed.