‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा यही मंसिर १६ गतेदेखि २५ गतेसम्म आयोजना हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ आयोजना गरिएको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको अध्यक्ष प्रजापतिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा गण्डकी सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रा.लि, इसेवा प्रालि, गरिमा विकास बैंक, बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रा.लि ले मुख्य सह-प्रायोजन गरेका छन् ।

footwear zone

त्यस्तै, ‘उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मुल नारासहित आयोजित मेलालाई बाइबाई चाउचाउ, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल, प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार, गृहलक्ष्मी ग्यास कम्पनी, नेपाल टेलिकम, कोसेली तेल, युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (युआरएल), हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ, सफल दूध, उपकार ब्राण्ड, अर्ना बियरको प्रायोजन रहेको छ ।

यसैगरी मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, टिकट प्रायोजकमा किङ क्वाइल, गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा, ब्रोसर प्रायोजकमा माछापुच्छ्रे बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक, मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल, हेल्थ पार्टनरमा मणिपाल अस्पताल रहेका छन् ।

त्यस्तै, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, मिडिया पार्टनरमा सिटीवान टेलिभिजन र अन्नपूर्ण एफएम रहेका छन् । मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ ।

कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका साथै विभिन्न २५ वटा उपसमितिहरुको सक्रियता रहेको छ । मेलाको करिब ९० प्रतिशत तयारी सकिएको र बाँकी काम आज र भोलिमा सम्पन्न हुने अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलाको गण्डकी प्रदेशका संचार, कानुन तथा प्रदेशसभा मामिलामन्त्री एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले मंसिर १६ गते मध्याह्न १२ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहेका छन् । मेलाका लागि सबैजसो स्टलहरु बुकिङ भइसकेको र विशेष उत्पादनहरुका लागि केही स्टल रिजर्भ राखिएको उनले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेको उनले जानकारी दिए ।

त्यस्तै, सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमसमेत प्रदान गर्ने अध्यक्ष प्रजापतिले जानकारी दिए । मेलामा राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिनुका साथै रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि राखिएको छ । मेलामा प्रवेश टिकट शुल्क १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ तोकिएको छ ।

मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको छ भने मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

यसका साथै मेलाको प्रवेश टिकटको अर्धकट्टीकै आधारमा अवलोकनकर्ताले मणिपाल अस्पताल, ग्यालेक्सी हस्पिटल, युआरल, एलिगेन्स ट्रेड सेण्टरलगायतमा विशेष छुट पाउन सक्नेछन् । मेला अवधिभर प्रदर्शनी केन्द्रमा उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजना गरिएको छ ।

हालसम्म पोखराको पर्यटनको भावी गन्तव्य, महिला उद्यमशीलता विकासका अवसर र चुनौती, स्वरोजगार सिर्जना र यसका विविध आयामहरु, पोखराको स्वास्थ्य क्षेत्र र अवसरहरु, पोखराको पूर्वाधार, आवश्यकता र सुधार एवं व्यवसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रको पहल विषयमा विभिन्न विज्ञहरुसँग गरिने अन्तरक्रिया कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, विज्ञहरुको उपलब्धताको आधारमा अन्य कार्यक्रमहरु मेला अवधिमा थप्न सकिने उनले जानकारी दिए । मेलाबाट अनुमानित १ करोड आम्दानी, ८५ लाख खर्च र करिब १५ लाख बचत हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।

You might also like

Comments are closed.