पोखरा । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।
शनिबार गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापासहितका अतिथिहरुले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रमु्ख अतिथि सांसद थापाले विद्यार्थीलाई विद्यालय नछाड्न आग्रह मात्रै गरेनन्, आवश्यक परे उनीहरुलाई सघाउने वचन पनि दिए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा महासचिव बलराम आचार्यले घरेलु कामदारको रुपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे ।

बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम परियोजना अधिकृत प्रीति पाण्डेको स्वागत तथा सफल बरालले सञ्चालन गरेक हुन् । कार्यक्रममा संघका उपमहासचिव शोभा गौतम तथा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गको पनि सहभागिता थियो ।




Comments are closed.