व्यापार मेलामा अवलोकनकर्ताको भीड

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार थामिनसक्नुको भीड भयो ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले शनिबार मेलामा थामिनसक्नुको भीड भएको बताए ।

‘मेलाको आइतबार समापन हुँदैछ, शनिबार ठूलो संख्यामा अवलोकनकर्ताहरु आउनुभयो,’उनले भने,‘उहाँहरुले अवलोकनमात्र गर्नुभएन, आफूलाई चाहिने सामग्रीहरु पनि किन्नुभयो । उहाँहरुको भव्य र सभ्य उपस्थितिबाट हामी हर्षित छौं । मेलाप्रति आम पोखरेलीले देखाएको सद्भावप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।’

संघका महासचिव बलराम आचार्यका अनुसार आइतबार अपरान्ह पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा मेलाको समापन हुनेछ । उनले शनिबार आयोजित सांगीतिक कार्यक्रम पनि उत्तिकै सफल भएको जिकिर गरे । चर्चित गायक पुरुषोत्तम न्यौपानेदेखि एलिना चौहानसम्मले मेला अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिएको उनको भनाइ थियो । आइतबार पनि सांगीतिक कार्यक्रम जारी रहने उनको भनाइ छ ।

footwear zone

संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार मंसिर २१ गतेबाट सुरु भएको मेलास्थलमा रहेका स्टलहरुबाट १० करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ ।

‘उद्यमशीलता विकास हाम्रो लक्ष्य हो, मेलामा धेरैजसो स्टलहरु प्रवद्र्धनका लागि राखिएका छन् तर पनि गाडीलगायत घरायसी सामानहरुको बिक्रीलाई आधार मानेर हामीले यो अनुमान गरेका हौं,’उनले भने,‘वास्तविक तथ्याङ्क भने मेला समापनपछि मात्र आउनेछ ।’

 

सामूहिक नृत्यमा बेसलाइन पहिलो
पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य तथा खुल्ला एकल नृत्य प्रतियोगिताको विजेता घोषित गरिएको छ ।

सामूहिक नृत्यतर्फ शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्य विद्यालयलाई पछाडि पार्दै बेसलाइन एकेडेमीले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मेरिगोल्ड स्कूल दोस्रो,कास्की मोर्डनाइज्ड तेस्रो र शान्ति निकेतनले सान्त्वना स्थान प्राप्त गरे । ती विद्यालयले. पनि क्रमशः २५ हजार,१५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका प्रतियोगिता संयोजक आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका कार्यसमिति सदस्य प्रेमप्रसाद सुवेदीले जानकारी दिए ।

यस्तै,खुल्ला एकल नृत्य प्रतियोगितातर्फ प्रशुन गुरुङ प्रथम,दिप्ती गुरुङ दोस्रो,अनुश्चा गुरुङ तेस्रो र कृतिका मगर र प्रनिता गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । ३५ जनाभन्दा प्रतिष्पर्धीले भाग लिएको प्रतिगिताका विजेताहरुले क्रमशः १० हजार ,७ हजार ५ हजार र ४÷४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगतामा बुद्धिप्रसाद गुरुङ,दानबहादुर गुरुङ,गम्भीर बर्देवा र सविन गुरुङ निर्णायक रहेका थिए ।

You might also like

Comments are closed.